नेपालमा पदयात्रा र पर्वतारोहण खुला, यस्ता छन पालना गर्नुपर्ने शर्तहरु

  • प्रकाशित मिति : September 30, 2020
  • नेपाल ज्योति

काठमाडौं ।हिमाल आरोहण तथा पदयात्रामा नेपाल आउने पूर्वसहमतिपछि मात्रै नेपाल आउन पाउने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पदयात्रा तथा पर्वतारोहणमा आउने पर्यटकले अनअराइभल भिसा पाउने बताएको छ ।

कोरोना महामारीपछिको विषम परिस्थितिमा पर्यटन क्षेत्र खुला गर्न मन्त्रालयले पर्वतारोहण तथा पदयात्रामा नेपाल आउने पर्यटकले पालना गर्नुपर्ने शर्तसम्बन्धी मापदण्ड २०७७ स्वीकृत गरेको छ । हिमाल आरोहण र पदयात्राको लागि आउनेले नेपालको ट्रेकिङ-आरोहण एजेन्सीसँग समन्वय गरी मात्रै आउन पाउने पर्यटन मन्त्रालयले जनाएको छ।

नेपाल आउने सबै पर्यटकको बढीमा ७२ घण्टा अगाडिसम्मको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ हुनुपर्ने प्रावधान राखिएको छ । यो प्रमाणपत्र अध्यागमन विभागले भिसा दिने समयमै हेर्नेछ । नेपालमा आउने सबै पर्यटक सात दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्छ । क्वारेन्टिनमा बसेको पाँचौ दिनमा पर्यटककै खर्चमा पीसीआर परीक्षण गरिनेछ । उक्त परीक्षणमा नेगेटिभ आएमा मात्र पदयात्रा र पर्वतारोहणमा जान सकिने गरी प्रावधान बनाइएको छ । नेगेटिभ नआएसम्म भने होटेलबाट बाहिर जान नपाउने गरी शर्त तोकिएको छ ।

मन्त्रिपरिषदको बैठकले अक्टोबर १ देखि हिमाल आरोहण र पदयात्राका लागि मात्रै पर्यटन आउन पाउने निर्णय गरेको थियो।