उपत्यकामा भीडभाड बढ्न थाल्यो, विशेष आदेशको पूर्ण कार्यान्वयन

  • प्रकाशित मिति : September 30, 2020
  • नेपाल ज्योति

काठमाडौं । कोभिड–१९ को जोखिमकाबीच काठमाडौँ उपत्यकामा सवारी तथा मानवीय चाप बढ्न थालेको छ । सवारीसाधान झण्डै साविकको तुलनामा बढी सञ्चालन हुन थालेको छ भने ट्राफिक जामसमेत बढ्न थालेको पाइएको छ । बाहिरी जिल्लाका सवारी आवतजावत बढेकाले पनि उपत्यकामा मानिसको आवागमनसमेत बढेको महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ । सवारी भित्रिने क्रम बढेकाले मानिसको चहलपहलमा वृद्धि भएको प्रहरीले जनाएको छ । मानिस र सवारीको चाप हुँदा कोभिड–१९ को जोखिम बढेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अहिले झण्डै २० हजार सवारीसाधान उपत्यका भित्रिने र सोही हाराहारीमा बाहिरिने गरेको छ । सोमबार उपत्यकामा चार हजार ५८३ सवारीमा १९ हजार ९०० यात्रु भित्रिएका थिए । चार हजार ६९८ सवारीमार्फत २० हजार भन्दा बढी यात्रु बाहिरिएका छन् । फलस्वरुप भीडभाड बढेको महसुस भएपछि आजदेखि भने विशेष आदेशको पूर्ण कार्यान्वयनमा लागेको उपत्यकाको ट्राफिक प्रहरीले जनाएको छ ।

काठमाडौँ उपत्यकामा जोर बिजोर प्रणालीअनुसार सवारी सञ्चालनमा छ । सार्वजनिक सवारी साधनले पनि आधा मात्रै यात्रु राखेर हिँड्न पाउँछन् । सवारीले ५० प्रतिशत बढी भाडा लिन पाउने व्यवस्था गरिएको छ । आवश्यक स्वास्थ्य सुरक्षा मापदण्डअनुसार सवारी चलाउन भनिएको छ । सबै सवारीले पूर्णरुपमा आदेश लागू गरेका छैनन् भने जोर बिजोर प्रणालीमासमेत बेपरवाह भएको पाइएको प्रहरीले जनाएको छ ।